समयमै काम गर्न निर्देशन: अर्थ मन्त्री बराल
गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बरालले समयमै बजेट कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिनु भएको छ । अर्थ मन्त्रालयले मंगलबार गोर्खामा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले कुनै बाहना बाजी नगरी समयमै बजेट कार्यान्वयन हुने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको हो ।
दोश्रो चौमासिक भित्र पनि कार्यक्रम कार्यान्वयनमा जान सक्ने अबस्था नभएमा तत्काल सरेण्डर (आत्मसमपर्ण) गर्न मन्त्री बरालको भनाई थियो । अधिकांश मन्त्रालयबाट बजेट माग भए पछि मन्त्री बरालले प्राप्त बजेटलाई सिमित श्रोत साधनको प्रयोग गरी कार्यान्वयन गर्न आग्रह गर्नु भयो । गोर्खाका प्रादेशिक कार्यालयहरुलाई पुरस्कृत हुने गरी काम गर्नुहुनेछ भन्ने उहाँको भनाई थियो । कार्यक्रममा वोल्दै मन्त्री बरालले अघिल्लो बर्षको तुलनामा यस बर्ष करिब ५ अर्ब कम बजेट विनियोजन भएकोले प्राप्त बजेटलाई प्रभावकारी ढंगले कार्यान्वन गर्नूपर्ने अबस्था रहेको बताउनु भयो ।
गण्डकी प्रदेशका पूर्व मन्त्री लेखबहादुर थापा मगरले दोश्रो चौमासिक सम्म कार्यान्वयन सुरु नभएका योजनाहरु रद्ध गर्न सुझाव दिनु भयो । उहाँले जिल्लामा राजश्व संकलन गर्न धेरै क्षेत्रहरु छुटेको तथा उठ्नुपर्ने राजश्व नउठेकोले यसमा अनुगमन आवश्यक भएको बताउनु भयो ।
अर्थ मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले आ–आफ्नो मन्त्रालय अन्तर्गतका कार्यालयहरुले आवश्यक बजेट माग गर्न भन्नु भयो । गोर्खा जिल्लाबाट करिब ६० करोड बढी बजेट माग भएको उहाँले बताउनु भयो । बजेट कार्यान्वयनको अबस्था बुझि कठिनाइ भएको अबस्थामा सहजीकरण गर्ने र आगामी बजेट निर्माणमा सुधार गर्नुपर्ने कुराको पृष्ठपोषणको लागि पनि जिल्लागत रुपमा छलफल गरिएको सचिव अर्यालले बताउनु भयो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय गोर्खाका प्रमुख महेन्द्र प्रसाद भण्डारीले यही मंसिर २७ गतेसम्म प्रदेश अन्तर्गत बजेट कार्यान्वय पूंजिगत तर्फ १७.२८ प्रतिशत बजेट खर्च भएको बताउनु भयो ।गोर्खामा चालु आ.व.मा १ अर्ब ८३ लाख बजेट विनियोजन भएको उहाँले बताउनु भयो ।
जिल्ला समन्वय समिति गोर्खाका जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेलले स्थानिय सरकारलाई जवाहदेही बनाउनु पर्ने बताउनु भयो । अनुगमन तथा मुल्याङकन शाखा कर्मचारी विहीन भएको उहाँको गुनासो गर्नु भयो ।
पुर्वाधार विकास कार्यालय गोर्खाका प्रमुख ओमराज ढुंगानाले यस बर्ष दायित्व सृजना हुदा ५ करोड २८ लाख आवश्यक भएको बताउनु भयो । उहाँले प्राप्त बजेट अभावले गर्दा यस बर्ष करिब १३ योजना नै प्रभावित हुने दाबी गर्नुँ भयो ।
स्वास्थ्य कार्यालय गोर्खाका निमिक्त प्रमुख बिद्या तामाङले गोर्खाको विकट क्षेत्र चुमनुब्रि र धार्चेमा ४५ जनाको दरवान्दी रहेकोमा हाल ७ जना मात्र रहेको गुनासो गर्नु भयो । आउदो पुष महिना भित्र १८ बर्ष माथिका व्यक्तिहरुमा ९४ प्रतिशत कोरोना बिरुद्धको खोपको पहुच पुग्ने तामाङले दाबी गर्नु भयो ।
सामाजिक विकास कार्यालयका प्रमुख दीपेन्द्र परिवारले दरवन्दी अनुसार कर्मचारी पदपुर्ति गरी काम गर्ने वातावरण सृजना गर्न माग गर्नु भयो । एकलाखे योजनालाई कार्यान्वयमा लैजान कठिन हुने गरेको उहाँको भनाई थियो ।
जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय गोर्खाका प्रमुख प्रकाश लम्सालले आगामी बर्ष योजना अनुसारको कार्यक्रम ल्याउदा न्यूनतम २० प्रतिशत बजेट सुनिश्चित गर्न माग गर्नु भयो । यस बर्ष थप ४ करोड बजेट आवश्यक भएको उहाँले माग गर्नु भयो ।
कृषि ज्ञान केन्द्र गोर्खाका प्रमुख परशुराम अधिकारीले जनशक्ति अभाव, व्यबस्थित बजारीकरण, श्रम शक्ति अभाव, भौगोलिक कठिनाईका कारण योजना कार्यान्वयनमा कठिनाई भएको बताउनु भयो । १३ जनाको दरवन्दीमा हाल ५ जना मात्र रहेको बताउनु उहाँले जनाउनु भयो ।
गोर्खाका प्रमुख जिल्ला अधिकारी शंकरहरि अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मन्त्रालयका उपसचिव वसन्तराज तिवारी, शाखा अधिकृत केशव सुवेदी लगायतले वोल्नु भएको थियो । गोर्खाको चुमनुब्रि गाउँपालिकामा अझै पनि सुख्खा पहिरो गएको प्रजिअ अधिकारीले गुनासो गर्नु भयो ।
सौजन्य-दिननाथ बराल