Worldlink Communications

मदन भण्डारीको त्यो सनसनीपूर्ण अन्तर्वार्ता, जसले ३२ वर्षअघि नै कम्युनिस्टको विजय स्थापित गर्‍यो

जेठ ४, पोखरा

मदन भण्डारीको त्यो अन्तर्वार्ता, जसले ३२ वर्षअघि नै अन्तर्राष्ट्रिय चर्चित अंग्रेजी साप्ताहिक न्यूजविकले २७ मे १९९१ (१३ जेठ २०४८) को अंकको कभर स्टोरी (आवरण कथा) को विषय भारतमा बढ्दो हिन्दू धार्मिक कट्टरतावादलाई बनाएको थियो। भारतको १० औँ लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै लेखिएको न्यूजविकको आवरण तस्वीरमा भारतीय जनता पार्टी (भाजपा) का बरिष्ठ नेता लालकृष्ण आडवाणीले स्थान पाएका थिए। कभर स्टोरीको शीर्षक थियो, ‘हिन्दू पावरः राइज अफ फण्डामेन्टलिष्ट’ (हिन्दू शक्तिः कट्टरतावादीको उदय)।

२० जुन १९९१ (६ असार २०४८) देखि विभिन्न चरणमा सुरु हुन लागेको १० औँ लोकसभा निर्वाचनलाई केन्द्रित गरेर आवरण कथा बनाएको न्यूजविकले त्यसै अंकमा नेपालमा भर्खर सम्पन्न आम निर्वाचनको परिणामलाई पनि स्थान दिएको थियो। ‘माक्र्सिजम्स हाईः भिक्टोरी इन काठमाडौँ’ (मार्क्सवादको उचाईः काठमाडौँमा विजय) शीर्षकमा १७ औँ पृष्ठमा प्रकाशित रिपोर्टमा हिमाली अधिराज्य नेपालको राजधानी काठमाडौँका पाँचमध्ये चार निर्वाचन क्षेत्रमा कम्युनिष्ट उम्मेदवारले विजय हासिल गरेको, उल्लेख्य सिट संख्याका साथ नेपालका कम्युनिष्टहरु दोस्रो ठूलो दल बनेको र बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नै कम्युनिष्ट उम्मेदवार (एमाले महासचिव मदन भण्डारी) बाट पराजित भएको उल्लेख थियो।

तर, यो रिपोर्टले उति चर्चा पाएन, जति चर्चा र महत्व न्युजविकको त्यही अंकको अन्तिम (५८) पृष्ठमा प्रकाशित एउटा सामाग्रीले पायो। त्यो सामाग्रीको शीर्षक थियो, ‘इन नेपाल, कार्ल मार्क्स लिभ्स’ (कार्ल मार्क्स नेपालमा जीवित छन्)। खासमा त्यो सामाग्रीमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको अन्तर्वार्ता थियो। अन्तर्वार्ता पत्रकार मिचेल लिटभिनले लिएकी थिइन्। आफ्नो उमेर भन्दा लामो राजनीतिक इतिहास भएका प्रधानमन्त्री भट्टराईलाई भर्खर खुला राजनीतिमा आएका भण्डारीले पराजित गरेपछि त्यसले काठमाडौँमा निकै ठूलो तरङ्ग सिर्जना गरेको थियो।

दासढुङ्गा सडक दुर्घटनामा ०३ जेठ २०५० मा निधन भएको दुई वर्षपछि प्रकाशित ‘जननेता मदन भण्डारीः पत्रकारहरुबीच’ पुस्तकमा संग्रह गरिएका अन्तरवार्ताहरुको सूची हेर्दा के देखिन्छ भने २०४७ जेठमा तत्कालीन नेकपा (माले) को प्रवक्ताको रुपमा खुला राजनीतिमा आएपछि चार वटा विदेशी मिडियालाई अन्तर्वार्ता दिएका थिए उनले। आफ्नो दुई वर्षे खुला राजनीतिक जीवनकालमा उनले दर्जनौँ मिडियालाई अन्तर्वार्ता दिए। तर, सबैभन्दा चर्चित चाहिँ न्यूजविकमा प्रकाशित सोही अन्तर्वार्ता नै बन्न पुग्यो।

राजा वीरेन्द्रपछिको अन्तर्वार्ता

न्यूजविकले नेपालमा घटेका राजनीतिक घटनाक्रमबारे बेला–बेला रिपोर्ट प्रकाशन त गथ्र्यो। तर, नेपालका राजनीतिक व्यक्तित्वको अन्तर्वार्ता भने विरलै प्रकाशित गर्ने गरेको थियो।

हामीले सुने अनुसार बिसं ३०’ को दशकको मध्यताका (संभवत जनमत संग्रह अघि) न्यूजविकले राजा वीरेन्द्रको अन्तर्वार्ता प्रकाशित गरेको थियो, त्यसमा उनले पञ्चायती व्यवस्थालाई प्रजातान्त्रिकरण र मुलुकलाई आधुनिकीकरण गर्दै लैजाने बताएका थिए’, यसै सन्दर्भ मा पद्मरत्न तुलाधर भन्नु हुन्थ्यो, ‘राजा वीरेन्द्रपछि न्यूजविकले प्रकाशित गरेको नेपालका राजनीतिक व्यक्तित्वको अन्तर्वार्ता एमालेका तत्कालिन महासचिव भण्डारीकै होला।’

लिटभिनसँगको कुराकानीमा महासचिव भण्डारीलाई मलेसियाका लागि नेपाली पूर्व राजदूत उदयराज पाण्डेले इन्टरप्रेटर (अनुवादक) को रुपमा सघाएका थिए। आम निर्वाचनबारे रिपोर्ट तयार गर्ने क्रममा गरिएको कुराकानी भएकाले त्यसले अन्तर्वार्ताको रुप पाउला भन्ने न पाण्डेले सोचेका थिए, न त भण्डारीले नै।

‘२०४८ को आम निर्वाचन संघारमा थियो, काठमाडौँ–५ का अलावा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई उम्मेदवार बन्नुभएको काठमाडौँ–१ को समेत प्रतिस्पर्धी भएका कारण मदनलाई भ्याइनभ्याई थियो’, राजदूत पाण्डेले आफ्ना आलेखहरुमा उल्लेख गरेका छन् कि, ‘उहाँलाई भेट्न चाहने विदेशीहरुका लागि समय मिलाइदिने र कुराकानीका क्रममा अनुवादकको जिम्मेवारी मलाई थियो। न्यूजविकका पत्रकारसँग कुराकानी भयो, तर अन्तर्वार्ताको रुपमा प्रकाशित होला भन्ने हामीलाई लागेको थिएन।’

भण्डारी पञ्चायलकालभर भूमिगत रहे। २७ चैत २०४६ मा बहुदलीय व्यवस्थाको पुनस्र्थापनाको करिव एक महिनापछि मात्र उनी नेकपा (माले) को प्रवक्ताको रुपमा सार्वजनिक भए। २२ कात्तिक (२०४७) मा ‘नेपाल अधिराज्यको संविधान–२०४७’ घोषणा भएपछि संविधानबारे नेकपा (माले) को धारणा प्रष्ट पार्ने क्रममा मात्र वहाँलाई पार्टी कार्यकर्ता र आम सर्वसाधारणले नेकपा (माले) को महासचिवको रुपमा चिन्न थाले।

महासचिवको रुपमा होस् वा त्यसअघि प्रवक्ताको रुपमा– भण्डारीको भाषणकलाको विलक्षणताले नेपाली कांग्रेस लगायत इतर दलहरुलाई आच्छुआच्छु पार्न थालिसकेको थियो। वहाँको भाषणप्रतिको जन–सम्मोहन कति प्रभावशाली थियो भने काठमाडौँ–१ मा उनको उम्मेदवारी प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईमाथि भारी पर्ने देखिएपछि नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरु ‘भर्खर दुलोबाट निस्केको नेता’ भन्दै भण्डारीलाई कमजोर देखाउने प्रयास गर्दै थिए। तर, निर्वाचन परिणाममा भण्डारी हावी भएरै छोड्नुभो, प्रधानमन्त्री भट्टराईले पराजय बेहोर्नु पर्यो।

यो चुनावी परिणामको असर हङकङस्थित न्यूजविकको ‘प्यासिफिक एडिसन’ कार्यालयमा पर्यो। निर्वाचन गराउने जिम्मेवारी पाएका अन्तरिम सरकारका प्रधानमन्त्री भट्टराई नै निर्वाचनमा पराजित भएपछि न्यूजविकले भण्डारीसँग तीन हप्ता अघि गरिएको कुराकानीलाई अन्तर्वार्ताको रुप दिएर प्रकाशित गर्ने निर्णय गर्यो। निर्वाचन अघिको कुराकानी भएपनि भूमिका (इन्ट्रो) मा लिटभिनले ‘निर्वाचन हुनुभन्दा केही अघिसम्म धेरै नेपालीले भण्डारीको नाम नसुनेको’ उल्लेख गर्दै ‘तिनै भण्डारीले बहालवाला प्रधानमन्त्रीलाई पराजित गरेको’ उल्लेख गरेर अन्तर्वार्तामा नयाँपन दिन खोजेको देखिन्छ ।

अन्तर्वार्तामा १२ वटा प्रश्न–उत्तर समावेश छन्। ‘अन्य मुलुकमा कम्युनिष्टहरु असफल भइरहेका बेला के आधारमा नेपालका कम्युनिष्टहरु सफल होलान्’ भन्ने प्रश्नका साथ कुराकानी सुरु भएको थियो। भण्डारीले उत्तर दिनुभएको छ, ‘साम्यवादको उद्देश्य शोषण, भ्रष्टाचार र अन्यायको अन्त्य गर्नु भएपनि यो नीति लागू गर्नेक्रममा चुकेकाले समाजवादी सत्ता असफल भएका हुन्। तर यसलाई साम्यवाद नै असफल भएको अर्थमा बुझ्नु हुँदैन।’

लिटभिनले सोधेका प्रश्न हेर्दा भण्डारीले कुराकानी गरेको कोठाको वातावरण अनुमान गर्न सकिन्छ। कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताको कोठामा अहिलेपनि विश्व कम्युनिष्ट आन्दोलनका विचारकहरु मार्क्स–एङ्गेल्स–लेनिनका अलावा चिनियाँ नेता माओत्सेतुङ र उत्तर कोरियाका संस्थापक किम इल सुङका पुस्तकका ठेलीहरु देखिन्छन्। महासचिव भण्डारीको कार्यकक्षमा पनि माओ र किम इल सुङका ठेलीहरु रहेछन्। ‘

मैले नोटिस गरेकी छु, तपाईंसँग उत्तर कोरियाली नेता किम इल सुङका पुस्तक छन्। उनीबारे तपाईंको के धारणा छ?’ यो प्रश्नपछि तेस्रो प्रश्न माओमाथि केन्द्रित गर्दै लिटभिनले भण्डारीसँग सोधेकी छन्, ‘अनि माओका राइटिङ (लेखनी) बारे चाहिँ के भन्नु हुन्छ?’

यतिमात्र होइन, नेपाली कम्युनिष्टहरुमाथि ३२ वर्षअघि गैर कम्युनिष्टहरुले के–कस्तो आरोप लगाउँथे, भण्डारीसँग सोधिएका प्रश्नहरुले तिनको पनि झल्को दिन्छन्। चिराचिरामा विभाजित नेपालका कम्युनिष्ट घटकहरुमध्ये कुनै घटक चीनसँग नजिक थिए, कुनै सोभियत संघसँग। चीन वा सोभियत संघलाई कसरी हेर्ने भन्ने सम्बन्धमा मत बाझिँदासमेत उनीहरु विभाजित हुन्थे। त्यसैले, ‘चीन वा सोभियत संघमा पानी पर्दा यहाँ यिनीहरु छाता ओढ्छन्’ भन्दै नेपाली कम्युनिष्टहरुलाई गिज्याइन्थ्यो।

संसदमा रहेका सबैजसो कम्युनिष्ट पार्टीका अहिले आ–आफ्नै भव्य पार्टी कार्यालय छन्। ठूल्ठूला व्यापारीका समेत घर छेकिने गरी कम्युनिष्ट नेताहरुले निजी बंगला ठड्याएका छन्। निर्वाचन प्रतिस्पर्धामा खर्च गर्ने मामिलामा कम्युनिष्ट उम्मेदवारले अन्य उम्मेदवारलाई माथ गर्छन्। सरकार जोगाउन आवस्यक पर्यो भने अर्को पार्टीका सांसदहरुलाई मध्यशहरस्थित पाँचतारे होटल होस् वा शहर वरिपरि मनोरमस्थलमा रहेका रिसोर्टमा लगेर गाँस–बास–तासको व्यवस्था गर्ने हैसियत पनि उनीहरुसँगै छ।

तर, मदनको जमानामा कम्युनिष्टहरुको आर्थिक हैसियत ‘विदेशीको मुख ताक्नु पर्ने’ खालको रहेछ भन्ने लिटभिनको एउटा प्रश्नले संकेत गर्छ। उनी भण्डारीसँग सोध्छिन्, ‘चीन र भारतीय कम्युनिष्ट पार्टीबाट तपाईंहरुले आर्थिक सहयोग लिने गरेको केही गैर–कम्युनिष्टहरुले बताउने गरेका छन् (यसबारे तपाईं के भन्नुहुन्छ?)’ भण्डारीले यसलाई विरोधीहरुले लगाएको आरोपको रुपमा चित्रण गरेका छन्।

त्यसपछिका ६ वटा प्रश्न–उत्तर

तत्कालिन एमालेको जाति र धर्म, विदेश र भूमिनीति सम्बन्धमा केन्द्रित छन्। काठमाडौँको चुनावी माहोल देखेर होला, नेपालमा कुनै दिन कम्युनिष्टहरुले सत्ता सम्हाल्ने अनुमान लिटभिनले उतिबेलै गरेजस्तो देखिन्छ। त्यसैले भण्डारीसँग अन्तिम प्रश्न सोध्छिन्, ‘यहाँ नेपालीहरु राजतन्त्रका विरुद्ध सडकमा उत्रिँदै गर्दा विश्वका अन्य देशका जनता कम्युनिष्ट शासकविरुद्ध सडकमा आएका थिए। नेपालमा पनि त्यस्तै भयो भने तपाईंहरु के गर्नु हुन्छ?’

सामान्य अन्तर्वार्ता, सनसनीपूर्ण शीर्षक

मदन भण्डारीको भाषण शैली आकर्षक थियो। वहाँ शब्दशिल्पी थिए। मीठा र नयाँ शब्दहरुको चयन गर्दै विपक्षीमाथि सभ्य, तर तीखो प्रहार वहाँको भाषणको विशेषता थियो। राजनीतिक वातावरणको विश्लेषण र सोही अनुसार नीति निर्माणमा पनि वहाँ उत्तिकै पारङ्गत देखिनुभो। चतुर त झन् कति भने, विश्वका अन्य मुलुकका राजनीतिक दलहरुले अभ्यास गरिसकेको ‘निर्वाचनमा प्रतिस्पर्धा, बहुमतको शासन–अल्पमतको प्रतिपक्ष, विधिको शासन, मानवअधिकार, प्रतिस्पर्धात्मक शासन व्यवस्था’ जस्ता विषयलाई समेटी ‘जनताको बहुदलीय जनवाद’ (जबज) को नामाकरण गरिदिनुभो। अनि त्यसैलाई ‘विश्व कम्युनिष्ट आन्दोलनका लागि नयाँ विचार’ को रुपमा व्याख्या गर्न समेत सफलता प्राप्त गर्नुभो र त्यही प्रकाशमा नेपालमा कम्युनिस्टहरु सबैभन्दा शक्तिशाली छन् । खासमा यो अन्य उदारवादी राजनीतिक शक्तिहरुका लागि नयाँ विचार होइन, संसारभर देखिएको हारले निराश नेपाली कम्युनिष्ट नेता–कार्यकर्ताहरुले यसलाई ‘सञ्जीवनी बुटी’ जस्तै मान्नु स्वाभाविक नै थियो त्यतिबेला ।

सामान्य जीवनशैली र आकर्षक भाषणकलाका कारण चर्चा र लोकप्रियता कमाएका भण्डारीको अन्तर्वार्तापनि पाठक–स्रोता–दर्शकहरुले उत्तिकै रुचिका साथ पढ्थे, सुन्थे र हेर्थे। तर, वहाँका अन्य भाषण वा अन्तर्वार्तासँग न्यूजविकको त्यो अन्तर्वार्ता दाँज्दा के लाग्छ भने, त्यसमा वहाँ ले खासै कुनै नयाँ र महत्वपूर्ण कुरा बोलेका भने छैनन्, न त अन्य भाषण र अन्तर्वार्तामा जस्तो यसमा उनी आक्रामक नै छन्। हो, अन्तर्वार्तामा उनले पार्टीका नीतिहरुको कुशलतापूर्वक व्याख्या गरेका छन्, आरोपहरुको संयमपूर्वक जवाफ फर्काएका छन्। तर, अरु ठाउँमा अफेन्सिभ (आक्रामक) छवी बनाएका भण्डारी न्यूजविक सँगको अन्तर्वार्तामा डिफेन्सिभ (रक्षात्मक) देखिएको मान्न सकिन्छ ।

यति हुँदाहुँदै पनि यो अन्तर्वार्ता मदन भण्डारीका अन्तर्वार्तामध्ये सबैभन्दा चर्चित रह्यो। न्यूजविक जस्तो ख्यातिप्राप्त अंग्रेजी पत्रिकामा प्रकाशित हुनु एउटा कारण थियो। त्यो भन्दा बढी यसको शीर्षक र तत्कालिन सामाजिक–राजनीतिक वातावरणका कारण अन्तर्वार्ताले अत्याधिक चर्चा पायो।

‘संसारभर साम्यवादी सत्ता ढलिरहेका थिए, त्यस्तो बेला नेपालमा भने (भण्डारीको नेतृत्वमा) चुनावमा प्रतिस्पर्धा गरेर एमालेले ठूलो सफलता प्राप्त गर्यो, अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेकाले भण्डारीको लोकप्रियता चुलिन पुग्यो’ पूर्व मन्त्री एवं २०४८ को निर्वाचनपछिका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाश गुप्ता यही बिषयमा आफ्ना आलेखमा भन्थे, ‘लेनिनले सोभियत रुसमा स्थापना गरेको समाजवाद भर्खर ढलेका बेला न्यूजविकजस्तो पत्रिकाले ‘नेपालमा कार्ल मार्क्स जीवितै छन्’ भन्दै भण्डारीको अन्तर्वार्ता प्रकाशित गरेपछि त्यसले चर्चा पाउनु स्वभाविकै थियो।’

गुप्ताका त्यतिबेलाको भनाईमा, अन्तर्वार्तामा भण्डारीले ‘कम्युनिष्टहरुले शासनसत्तामा जाने शैली (निर्वाचनमा प्रतिस्पर्धामार्फत्) परिवर्तन गर्ने’ कुरा गरेकाले पनि त्यो अन्तर्वार्ताको विशेष महत्व रहन गयो।

त्यो बेलाको ‘राजनीतिक समाजशास्त्र’ का कारण पनि भण्डारीको अन्तर्वार्ताले महत्व र चर्चा पाएको हो। बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि भर्खर पहिलो आम निर्वाचन सम्पन्न भएको थियो। कांग्रेस–कम्युनिष्टबीच राजनीतिक रुपले मात्र होइन, सामाजिक दृष्टिले पनि पानी बाराबारको स्थिति थियो। कतिपय ठाउँमा कांग्रेसले प्रयोग गर्ने धारा–कुवा कम्युनिष्टले प्रयोग गर्न पाउँदैनथे। कम्युनिष्ट प्रभाव रहेको गाउँमा कांग्रेस समर्थकहरु लखेटिन्थे। ‘कम्युनिष्टहरुले जातपात मान्दैनन्, छोरी–चेली भन्दैनन्’ भन्ने प्रचार गर्दै कांग्रेस कार्यकर्ताहरु मतदाताबीच पुगेका थिए। कम्युनिष्टहरु इतिहासले पुष्टि गरेको कांग्रेस नदीनाला र देश बेचुवाहरुको पार्टी हो’ भन्दै मतदातालाई आफूप्रति आकर्षित गर्ने प्रयास गर्नु स्वाभाविक नै थियो। त्यतिबेला चुनावी प्रतिस्पर्धाले हिंसात्मक रुप लिँदा कतिपयले ज्यान पनि गुमाउनु परेको थियो।

यस्तो शत्रुतापूर्ण प्रतिस्पर्धाका बीच भएको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत त प्राप्त गर्यो। तर, पार्टीका सभापति समेत रहेका प्रधानमन्त्री भट्टराई नै निर्वाचनमा भण्डारीसँग पराजित भए। ‘निर्वाचनमा बहुमत हासिल गरेपनि भट्टराईको पराजयले नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरुमा ठूलो चोट परेको थियो’, काठमाडौँ–१ (बानेश्वर) कै मतदाता रहेका पद्मरत्न तुलाधर भन्थे, ‘त्यस्तो राजनीतिक–सामाजिक स्थितिमा न्यूजविक जस्तो पत्रिकाले ‘प्रधानमन्त्री भट्टराईलाई पराजित गरेको’ भन्दै भण्डारीको अन्तर्वार्ता प्रकाशित गरेकाले त्यो चर्चित बन्न पुग्यो।’

संसारभरिको पत्रकारिताको अभ्यास के हो भने, अन्तर्वार्ता दिनेले जे बोलेको छ, त्यसमध्ये सबैभन्दा आकर्षक वा महत्वपूर्ण भनाईलाई अन्तर्वार्ताको शीर्षक बनाइन्छ। तर, यो अन्तर्वार्ताको शीरदेखि पुच्छसम्म हेर्यौं भने भण्डारीले कहीँपनि ‘नेपालमा कार्ल मार्क्स जीवित छन्’ भन्ने बोलेका छैनन्। भण्डारीको ‘इन्टरप्रेटर’ को रुपमा रहेका राजदूत पाण्डेले समेत त्यतिबेला उल्लेख गरे बमोजिम पनि लिटभिनसँगको ३५ मिनेटको कुराकानीमा भण्डारीले यस्तो बाक्य प्रयोग गरेका थिएनन्। त्यसो भए न्यूजविकजस्तो पत्रिकाले बोल्दै नबोलेको कुरालाई किन भण्डारीको अन्तर्वार्ताको शीर्षक बनायो होला?

हुन त, त्यो बेला भण्डारीले ‘जबज प्रतिपादन’ गरिसकेका थिएनन्। उनले ‘जबज’ लाई एमालेको मार्ग निर्देशक सिद्धान्तको रुपमा अघि सारेको ०४९ फागुनमा सम्पन्न एमालेको पाचौँ राष्ट्रिय महाधिवेशनमा हो। तर, उनको ‘सम्बोधन कला’ ले ग्रामीण र शहरिया दुबै भेगका जनतालाई मोहनी लगाइसकेको थियो। भण्डारीको आक्रामक र आकर्षक भाषण कला पनि ०४८ को निर्वाचनमा एमालेले पाएको सफलताको एउटा प्रमुख कारण थियो। यही कारण भण्डारीलाई नै मार्क्सको रुपमा चित्रित गर्दै न्यूजविकले त्यस्तो शीर्षक राखेको हुनसक्ने कतिपयको अनुमान थियो।

२०४८ को निर्वाचनमा कम्युनिष्टहरुले जुन सफलता प्राप्त गरे, खासमा त्यो असाधारण नै थियो। किनभने, ०१५ को निर्वाचनमा प्रतिनिधि सभाका १०५ मध्ये नेकपा ४ सिटमा मात्र विजयी भएकोमा २०४८ को निर्वाचनमा कम्युनिष्ट घटकहरुमध्ये एमालेले ६९ सिटमा विजय हासिल गरेको थियो भने संयुक्त जनमोर्चाले ९, नेमकिपाले २ र नेकपा (संयुक्त) ले २ गरी कम्युनिष्टहरु ८२ सिटमा विजयी भएका थिए। २०१५ मा दुई तिहाई जितेको नेपाली कांग्रेस साधारण बहुमतमा सीमित भएको थियो। ३० वर्ष शासन गरेको दरवार समर्थक राप्रपा जम्मा ४ सिटमा खुम्चिएको थियो। यो सफलतामा भण्डारीको भाषण कलाको हात देख्ने कार्यकर्ताहरुले उनलाई मार्क्सकै रुपमा व्याख्या गर्नु अनौठो हुँदै हैन।

तर, जहाँसम्म न्यूजविकजस्तो पत्रिकाले राखेको अन्तर्वार्ताको शीर्षक हो, त्यसले चाहिँ धेरैलाई अचम्मित बनाएको थियो। ‘त्यस्तो शीर्षक देख्दा मलाई पनि अचम्म लागेको हो’, पाण्डेले अहिले पनि क. मदनको बारेमा बोल्दा भन्छन् ,त्यति मात्रै हैन ,‘नेपालमा कम्युनिज्म अर्थात् मार्क्सवादले सफलता प्राप्त गरेको हो भन्ने अर्थमा न्यूजविकले त्यस्तो शीर्षक राखेको हो कि भन्ने मलाई लाग्छ।’ भन्थे उदयराज पाण्डे ।

न्यूजविकमा मदन

तत्कालीन राजदूत पाण्डेले भने झैँ, नेपालमा कम्युनिष्टहरुले जुन सफलता प्राप्त गरे, त्यसलाई प्रतिकात्मक रुपमा प्रस्तुत गर्न भण्डारीको अन्तर्वार्तामा सो शीर्षक प्रयोग गरिएको थियो भन्ने न्यूजविकको त्यही अंकको अर्को सामाग्री हेर्दा देखिन्छ। किनभने, १७ औँ पृष्ठमा प्रकाशित रिपोर्टमै त्यसले नेपालका कम्युनिष्टहरुले प्राप्त गरेको विजयलाई मार्क्सवादको विजयका रुपमा व्याख्या गरेको थियो। र, सो समाचार–सामाग्रीको शीर्षक नै ‘मार्क्सवादको उचाईः काठमाडौँमा विजय’ थियो।

मदन भण्डारीको अन्तर्वार्ता प्रकाशित भएको न्यूजविकको त्यो अंक अहिले पल्टाएर हेर्दा लाग्छ, ३२ वर्षअघि नै न्यूजविकले नेपाल र भारतको राजनीतिबारे सही प्रक्षेपण गरेको रहेछ। किनभने, आपसी शत्रुता जतिसुकै चुलिएपनि नेपालको राजनीतिमा मार्क्सका अनुयायीहरु नै शक्तिशाली छन्, निर्णायक छन् अहिलेसम्म। अनि, भारतमा पनि हिन्दू कट्टरतावाद बढ्दो छ, शक्तिशाली पनि हुँदैछ।

~ नेकपा एमालेका जिल्ला सदस्य झपट रानाभाट

 

 

प्रतिक्रिया दिनुहोस्: