आज धनधान्यकी देवी लक्ष्मीको पूजा गरिदै-कुकुर तिहार पनि आजै




कार्तिक २६, पोखरा
आज तिहारको दोेस्रो दिन हरेक हिन्दू धर्मावलम्बी हरूको घरघरमा साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै छ भने आजै कुकुरतिहार पनि परेको छ ।
धर्म र संस्कार अनुसार बिहानै उठेर सफासुग्घर भै घर लिपपोत गरि दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थान मा सरसफाइ गरी दीपावली गरिन्छ ।
आजकै साँझ लक्ष्मी पूजा गरि आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।
पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।
लक्ष्मीको पूजागरि सकेपछि कन्या केटी अथवा छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास पनि गरिन्छ ।
लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरकि नारीले नाङ्लो ठटाएर ‘ लक्ष्मी आउने नराम्रो बाटो हटोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी उज्यालो कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।आजै साँझ बाट युवा युवतीहरू समूह बनाई घरघरमा देउसि भैलो पनि खेल्ने गर्दछन् ।


