टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी सेमीफाइनलमा, खेल जितेर पनि बाहिरियो आर्मी
माघ ४ ,पोखरा
पोखरामा चलिरहेको चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० मा पुरुषतर्फको डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघले सेमीफाइनलमा स्थान पक्का गरेको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा बिहिबार भएको अन्तिम लिगमा गण्डकी विभागिय क्लब नेपाल आर्मीको त्रिभुबन क्लब संग ३–२ सेटले पराजित भए पनि सेमीफाइनलको यात्रा तय गरेको हो ।
खराब प्रकाशका कारण रोकिएको उद्घाटन खेलको लिग अन्तर्गत भएको खेलमा पहिलो सेट २५–२० ले नेपाल आर्मीले जित निकाल्दै घरेलु टोली गण्डकीलाई दबाबमा राख्ने प्रयास गरेको थियो । दुबै टोलीलाई जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रिए पनि दोश्रो र तेश्रो सेट गण्डकीले २०–२५ र १७–२५ ले जित्दै खेलमा पुनरागमन गर्न सफल भएको थियो भने चौथो र पाँचौ सेट २५–२१ र १५–६ ले खेल जितेको आर्मी प्रतियोगिताबाट बाहिरिएको छ ।
गण्डकीले सेमीफाइनलमा ग्रुप बीको बिजेता सशस्ब प्रहरीको एपिएफ क्लवको सामना गर्नेछ । लिगमा हेल्प नेपाल स्पोर्टस क्लबलाई गण्डकीले ३–२ को सेटमा हराएको थियो । हेल्प नेपालले आर्मीलाई सोझो सेटमा हराएको थियो । समूह बि बाट एपिएफ विजेता र श्रीलंका आर्मी टिम उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरिसकेको छ । शुक्रबार हुने पुरुषतर्फको सेमीफाइनलमा हेल्प नेपाल र श्रीलंका आर्मी तथा दोश्रो खेल एपिएफ र गण्डकीका बिच हुनेछ ।
महिलातर्फ तेश्रो स्थानका लागि हुने खेलमा नेपाल आर्मीको त्रिभुबन क्लवले अर्को विभागिय टोली नेपाल पुलिसको सामना गर्नेछ ।टाइगर कप भलिबल प्रतियोगिता अन्तर्गत शुक्रबार तीन खेल हुने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनुभएको थियो।
महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लब र चन्द्रागिरी न्यू डायमण्डका बिच उपाधि भिडन्त पक्का भएको छ ।जारी प्रतियोगिताको दोश्रो सेमीफाइनलमा विभागिय टोली नेपाल पुलिस क्लबलाई सोझो ३–० को सेटमा पराजित गर्दै न्यू डायमण्डले फाइनलमा स्थान बनाउँदै एपिएफ क्लब संग भिडन्त पक्का गरेको छ ।
सम्पन्न खेलमा पहिलो सेट २५–१९ ले दोस्रो सेट २५–१८ र तेस्रो सेट समान २५–१८ ले आफ्नो पक्षमा पार्दै पहिलो पटक न्यू डायमण्ड फाइनलमा प्रवेश गरेको छ खेलमा टाइगर अफ दि म्याच सलिना बुढामगर घोषित हुनुभएको छ ।
सम्पन्न एक अर्को सेमीफाइनलमा नेपाल आर्मीको त्रिभुबन क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको छ। दोश्रो र तेश्रो सस्करणको च्याम्पियन एपिएफले बिहिबार उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलमा प्रवेश गर्न सफल भयो ।
सम्पन्न खेलमा एपिएफले पहिलो दुई सेट १९–२५ र २०–२५ ले नेपाल आर्मीलाई सुम्पिए पनि पछिल्ला तीन सेट २५–१३, २५–१६ र १५– १३ ले खेलमा फर्किर्दै उपाधि नजिक पुगेको हो । पाँचौ सेट जारी रहँदा एपिएफ ७–२ ले पछि थियो । आर्मीले आफ्नो अग्रतालाई जोगाउन सकेन । आर्मीको एक पछि अर्को गल्तीको फाइदा उठाउँदै अन्ततः एपिएफ फाइनलमा स्थान पक्का गर्न सफल बन्यो । खेलमा एपिएफका सरस्वती चौधरी टाइगर अफ दि म्याच घोषित हुनुभएको छ।
जारी प्रतियोगितामा अविजित रहँदै एपिएफले उपाधिका लागि बलियो दाबेदारी प्रस्तुत गरेको छ । चौथो सस्करण जितेमा एपिएफले टाइगरकपको उपाधिमा ह्याट्रिक समेत गर्नेछ ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।
उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने संस्थाका सचिव डिबी नेपालीले बताउनुभएको थियो ।