आर्थिक वर्ष सुरुवातमै पोखरा २० ले गर्यो सार्वजनिक सुनुवाई कार्यक्रम
श्रावण २९ , पोखरा
सुशासन, पारदर्शिता र जवाफदेहीताको नाराको साथ पोखरा २० भलामले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८०।०८१ को योजना तथा कार्यक्रमको समिक्षा र २०८१।०८२ को योजना तर्जुमा कार्यक्रमको बिषयमा वडा नं.२० ले सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत सार्वजनिक गरेको हो ।
सार्वजनिक सुनवाई कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष गंगा बहादुर खत्रीले वडाको विकासको लागि निरन्तर लागिरहने बताउनुभएको थियो। कार्यक्रममा उपस्थित वडाबासीले चालु आर्थिक वर्षमा सडक,सडक बत्ती, शान्ति सुरक्षा, शिक्षा स्वास्थ्य, सार्वजनिक जग्गा सुरक्षा लगायतका विषयमा जिज्ञासा राखेका थिए।
वडाबासी नागरिक हरुबाट सोधिएका प्रश्नहरूको बारेमा वडाअध्यक्ष गंगा बहादुर खत्रीले समग्र वडाको विकासको लागि वडाबासीको पनि उत्तिकै हात हुने हुँदा सवै मिलेर नै वडालाई समृद्ध वडा बनाउन सकिने भन्दै सबैको प्रश्नहरूको चित्त बुझ्ने गरी जवाफ दिनुभएको थियो ।
वडाअध्यक्षले नयाँ बन्दै गरेको वडा कार्यालय निर्माणका लागि टेण्डर प्रक्रिया सकेर पनि काम अगाडि बढिसकेको स्पष्ट जनताले बुझ्ने भाषामा जानकारी दिनुभएको थियो। आफ्नो टोलमा सरसफाई गर्न स्वयं टोलबासीनै जिम्मेवारी भएको बताउनुभएको थियो ।
यस आर्थिक वर्षमा वडाभित्र रहेका आमा समूह, टोल विकास संस्था ,युवाक्लव लगायत सामाजिक संघसंस्थालाई अभिमुखीकरण गराएर मात्रै बजेट कार्यान्वयन गरिने जानकारी दिनुभएको थियो यस भूमिकालाई सम्बन्धित निकायका महत्व पूर्ण व्यक्तित्वहरूले आफ्नो पद र आफ्नो महत्वको भूमिकालाई महत्वपूर्ण बनाइ हरेक क्रियाकलापमा सक्रिय भूमिका खेल्नुहुनेछ भन्ने अपेक्षा गर्नुभएको थियो।
वडा सचिव हरिकृष्ण आचार्यले गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरु वडाबाट सम्पादन भएका सेवा प्रवाह र विकास निर्मणको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। जसअनुसार आ.व.२०८०।०८१ मा वडा नं. २० मा वडास्तरीय बजेट १ करोड ५९ लाख १७ हजार, महानगरस्तरीय बजेट रु. २ करोड ५१ लाख र क्रमागत गत वर्षबाट सरेको रु. २ करोड ३ लाख ७२ हजार गरी कुल बजेट ६ करोड १३ लाख ८९ हजार भएको जानकारी दिए । जस अन्तर्गत महानगरको मात्रै ४ करोड ५४ लाख ७२ हजार रहेको जानकारी गराउनुभएको थियो।
पोखरा २० लाई पर्यटन तथा संस्कृति संरक्षणका विभिन्न कार्यक्रम हरु पस्किएन भने, सामाजिक विकास तर्फका कार्यक्रमहरु दिएन भने अन्याय हुने भएको हुनाले वडाका हरेक पक्षका कार्यहरू र सेवालाई चुस्त दुरुस्त बनाउनको लागि ,एकद्वार प्रणाली मार्फत सेवा प्रवाह गरिने, नागरिक बडापत्र अनुसार काम गरिने, जनगुनासो पेटिकाको व्यवस्था गरिएको र आएको गुनासोहरूलाई छिटोभन्दा छिटो सम्बोधन गरिने, जन प्रतिनिधि र कर्मचारीसहितको घरदैलो कार्यक्रमका विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रमको सहजीकरण पब्लिक फोर के टेलिभजनले गरेको थियो भने विभिन्न अनलाइन पत्रिकाका पत्रकार हरूको उपस्थिति रहेको सो कार्यक्रम संचालन भने सञ्चारकर्मी अमृत कुमार भट्टराईले गर्नुभएको थियो ।