Worldlink Communications

समाधान राष्ट्रिय दैनिक पत्रिका जलाएपछि बास्तबिकता प्रष्ट पार्न उचित ठानेका छौैं : समाधान

भाद्र ७, पोखरा

पोखरा समाधान राष्ट्रिय दैनिकका केही प्रति जलाइएको तस्विर सामाजिक सञ्जालमा देखिएकाले सामाजिक सञ्जालबाटै यस बारेमा केही कुरा प्रष्ट पार्न उचित ठानेका छौैं ।

समाधान मिडिया सार्वजनिक सम्पत्ति हो । यसले सबैका आवाज समेटछ । यसअघि पटकपटक सहकारीका पीडित बचतकर्ताका पीडालाई महत्व दिएर समाचार प्रकाशन गरेको छ । यसपटक सञ्चालक समितिमै राखिएका अनुज नकमीले समाधानलाई आफ्नो पीडा सुनाए, जुन हृदयस्पर्शी छ ।

यसअघि बचतकर्ताले भनेकै आधारमा, उनीहरुको आँखामा आँसु देखेकै आधारमा हामीले बचकर्ताको पक्षमा समाचार लेखेका छौं । ठगले सबैलाई ठग्छ । अनुजका कुरा सुन्दा, उनको आँखाका आँसु देख्दा ठगले कसरी ठगी गरेछ भन्ने जनताले थाहा पाउनुपर्छ भन्ने हेतुले जीबी राईको कुकर्मको सिकार भएका अनुज शीर्षकमा अनुज नकर्मीको भनाइलाई उदृत गर्दै समाचार प्रकाशन प्रसारण भएको छ ।

यो समाचारप्रति के असहमति हो भन्ने कुरा पत्रिकाको कार्यालयमा आएर कसैले भनेका छैनन् । खण्डन गर्न कोही आएका छैनन् । तर बुधबार दिउसो पत्रिका जलाइएछ । त्यसैले पत्रिका जलाउने घटना नियोजित भएको हाम्रो ठहर छ ।

सूर्यदर्शन सहकारी पीडितका नाममा गठित संघर्ष समितिका संयोजक किरण श्रेष्ठ पत्रिका जलाउने घटनामा आफै उपस्थित छन् । आफ्नो पहिचान लुकाउन उनले मास्क लगाएर बसेका छन् र सोझा साझालाई उक्साएर पत्रिका जलाएछन् ।

सहकारी पीडितलाई न्याय दिने नाममा ठगी खाने गिरोह सक्रिय छ । सहकारीमा बचत डुबेर मर्माहत भएका पीडितहरुलाई न्याय दिलाउने नाममा उल्टै रकम असुलेर मोजमस्ती गर्न पल्केकाहरुले पीडित बचतकर्तालाई भ्रममा पार्न यस्ता हरकत गरेका पनि हुन सक्छन् । आन्दोलनका अगुवामध्येका कतिपयले कारागार चलान भएका र बाहिरै लुकेर बसेका सहकारीका सञ्चालकहरुसँग एक्लै भेटघाट गरेर आफ्नो रकमका लागि मात्र बार्गेनिङ गरेका छन् । त्यही गिरोहको निर्देशनमा पत्रिका जलाइएको स्रोतहरुले बताएका छन् ।

संघर्ष समितिका संयोजक किरण श्रेष्ठले सहकारीको नाममा रहेको गाडी कब्जा गरेर भाडामा लगाएको समाचार समाधानमा प्रकाशित भएको थियो । त्यसैको बदला लिन पनि उनले यो हर्कत गरेको हुन सक्छ ।

सञ्चार माध्यम सार्वजनिक सम्पत्ति हुन् । यिनको संरक्षण गर्नु आम नागरिक र राज्यको दायित्व हो । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, नेपाल पत्रकार महासंघ कास्की,प्रेस युनियन कास्की, प्रेस सेन्टर गण्डकी प्रदेशले देखाएको चासो र ममता प्रति समाधान परिवार आभारी छ । (समाधान पत्रिकाको फेसबुक वालबाट साभार)

प्रतिक्रिया दिनुहोस्: