स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते
भाद्र १८, जलेश्वर
प्रादेशिक अस्पताल जलेश्वरको आकस्मिक कक्षले दिएको जानकारी अनुसार पछिल्लो दुई दिनमा स्याल र कुकुरले टोकेर १४ जना घाइते भएका छन् ।
प्रादेशिक अस्पताल जलेश्वरमा घाइतेहरूको उपचार भइरहेको छ भने तीनजनालाई थप उपचारको लागि जनकपुर पठाइएको स्वास्थ्यकर्मी राजीव कुमार पाठकले जानकारी दिनुभयो।
जलेश्वर नगरपालिका–३ मलिवारा बस्ने ३२ वर्षीया उषा देवी, १४ वर्षीया शिवानी मिश्रा, ३३ वर्षीय दिलीप कुमार मण्डल र सात वर्षीय अर्पित कुमार महतोलाई घरै अगाडि वन क्षेत्रबाट आएको स्यालले टोकेर घाइते हुनुभएको छ ।
जलेश्वर नगरपालिका–६ बस्ने ३५ वर्षीया लिलम देवी, १२ वर्षीया माया कुमारी र १२ वर्षीया सङ्गीता मण्डललाई वन क्षेत्रबाटै आएको स्यालले टोकेर घाइते बनाएको छ ।
स्यालले आतङ्क मच्चाए पछि वनक्षेत्र नजिक बस्ने र एकाबिहानै वन क्षेत्रको बाटो भएर आउजाऊ गर्नेमाथि स्यालले आक्रमण गरेर घाइते बनाउने गरेको छ। स्यालले जिल्लामा आतङ्क नै मच्चाइ रहेका बेला अर्को तर्फ कुकुरले टोकेर घाइते हुनेहरूमा जलेश्वर नगरपालिका–२ का ६० वर्षीया सागर देवी, ४० वर्षीय विलास साह, जलेश्वर–१० का ६९ वर्षीया निर्मला देवी, ६४ वर्षीय रासिद अन्सारी, बलवा नगरपालिका–३ का ३७ वर्षीय जुगेश्वर यादव र लोहारपट्टी नगरपालिकाका ५३ वर्षीय नसरुद्दिन राईन रहेको प्रादेशिक अस्पताल जलेश्वरले जनाएको छ ।
स्याल र कुकुरले टोकेर घाइते भएकालाई उपचारको लागि चाहिने एन्टिरेबिज भ्याक्सिन ५० जनालाई पुग्ने रहेकाले तत्कालै भ्याक्सिनको अभाव नहुने अस्पताल स्रोतले जनाइएको छ ।
यसै क्रममा अनुहार, मुख र ओठ नै काटिने गरी गम्भीर घाइते भएका तीन जनालाई उपचारको लागि ‘इमिनो ग्लोबिन’ लगाउनुपर्ने तर सो भ्याक्सिन प्रादेशिक अस्पताल जलेश्वरमा उपलब्ध नरहेको कारण उनीहरूलाई थप उपचारको लागि जनकपुर पठाइएको अस्पताल स्रोतले बतायो ।