Worldlink Communications

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्राङ्गणमा नवौ सस्करणको महोत्सव सुरु

मंसिर २३

पोखरामा नवौँ संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको सुरु भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आयोजित महोत्सवको आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्‌घाटन गर्नुभयो।

उद्‌घाटन कार्यक्रममा बोल्दै उहाले पर्वतीय सङ्ग्रहालय पर्वतीय क्षेत्रको बारेमा जानकारी लिन चाहने सबैको लागि एउटा पाठशाला भएको बताउनुभयो । पर्वतीय क्षेत्रका हरेक वस्तुस्थितिको बारेमा सङ्ग्रहालयको अवलोकन पश्चात जानकारी प्राप्त हुने उहाको भनाइ थियो । यसले गण्डकी प्रदेश सहित नेपालको पहिचान झल्काउने भन्दै अन्तराष्ट्रिय क्षेत्रमा समेत नेपाललाई परिचित गराउने बाम गरेको बताउनुभएको थियो।

जलवायु परिवर्तनका कारण पर्वतीय पर्यटनका असर परिरहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो। गण्डकी प्रदेश भित्र रहेका पर्वतीय पर्यटन क्षेत्रको प्रवर्द्धन र पर्यटकको लागि आकर्षण थप्न गण्डकी प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो। हामीले नगरेको गल्तिको सजाय भोग्नु परेको भन्दै उनले हिमालमा हिउँ नदेखिनु चिन्ताको विषय भएको सुनाउनुभएको थियो।

मंसिर २७ गतेसम्म चल्ने महोत्सवको अवलोकन निःशुल्क रुपमा गर्न पाइने अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिनुभयो । महोत्सवमा नेपालका हिमाली क्षेत्रका परेका परिवर्तनका असरहरूलाई महत्वका साथ उठान गरिनेछ । हिमाली क्षेत्रमा जनजीवन असहज भैरहेकोले त्यसलाई कसरी सहज बनाउदै जलवायु परिवर्तन हुने खालका गतिविधिलाई नियन्त्रण गर्दै जनजीवनलाई सहजीकरण गर्ने भन्ने विषयमा बौद्धिक खालको अन्तरक्रिया हुने कार्यकारी निर्देशक न्यौपाने जानकारी दिनुभयो।

नेपाल पर्वतारोहण सङ्घ र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखराले संयुक्त रुपमा महोत्सवको आयोजना गर्नुभएको हो । पहिलो दिन पर्वतीय जीवन, अनुकूलन र भविष्यबारे अन्तरक्रिया कार्यक्रम र स्थानान्तरण भैरहने चराहरू सम्बन्धी जनचेतनामूलक नाटक प्रदर्शन समेत भएको थियो ।

दोस्रो दिन योजना अनुसार नै पर्वतीय पर्यटनका सम्भावना र अवसरबारे विज्ञहरूले आफ्नो अभिमत राख्ने बताइएको छ। तेस्रो दिन डिसेम्बर ११ मा पहाडी क्षेत्रमा शौचालयको महत्वबारे सरोकारवालाको सहभागितामा अन्तरक्रिया हुनेछ । महोत्सवको चौथो दिन अनुभवी पर्वतारोहीसँग पर्वतारोहणका रोमाञ्चक क्षण, तयारी, दुःख र भावी सम्भावनाबारे छलफल हुनेछ । अन्तिम दिन अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनका असरबारे विमर्श गरिनेछ । यसका अलावा सङ्ग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि सञ्चालन गरिने कार्यक्रम तय भइसकेको आयोजकले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्: