पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’
पुस १४, पोखरा
पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’आजबाट सुरु हुँदै ।
पर्यटकीय राजधानी पोखराको फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी हुँदैछन् । प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा २० टोली सहभागी हुनेछन्।
नेपाल र छिमेकी मूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तर सम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गराउने उद्देश्यले हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो।
महानगर प्रमुख धनराज आचार्यका अनुसार प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी एक सय २९ खेलाडी यही पुस ११ गते पोखरा आइसकेको र सहभागी टोलीले फेवातालमा दैनिक अभ्यास गरिरहेका बताउनुभयो।
फेष्टिभलमा प्रतियोगितामा चीनबाट आठ, सिङ्गापुरको एक तथा बाँकी ११ टिम गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल -र्याफ्टिङ एजेन्सिज एशोसिएशन सहितको टिम सहभागी हुने बताइएको छ।