Worldlink Communications

पोखरा महानगर पालिकाका वडा न.३, वडाध्यक्ष प्रकाशमान उदासलाई भातृ शोक

पौष १८ , पोखरा

पोखरा महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाशमान उदासलाइ भातृ शोक परेको छ।

पिता दूधमान उदास र माता सन्तमाया उदासको कोखबाट जेष्ठ सुपुत्रको रूपमा २०२० असार ६ गते जन्मनु भएको शंकर उदासको उपचारको क्रममा गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०८१ पौष १४ गते राती १०:२० बजे  ६१ वर्षको उमेरमा दुखद निधन भएको थियो।

पारिवारिक स्रोतका अनुसार उहाँको श्रीमती रचना उदास, एक छोरी शुभेच्छा, छोरा सुबोध र बुहारी अंशु उदास हुनुहुन्छ । दुई भाई मध्ये प्रकाशमान उदास पोखरा महानगर पालिकाका वर्तमान ३ नं. वडा अध्यक्ष हुनुहुन्छ भने ई. उत्तममान उदास वुल्स जीमका प्रोपाईटर हुनुहुन्छ। एक दिदी अम्विका र भिनाजू ईन्द्र श्रेष्ठ, एक वहिनी ज्वाँई अञ्जु र रोशन ताम्राकार हुनुहुन्छ ।

स्वर्गीय वकिलमान (शंकर) उदास बाल्यकाल देखि नै धार्मिक क्षेत्रका साथै खेलकूद, राजनिति, शिक्षा, सामाजिक कार्यमा रूचि राख्नु हुन्थ्यो । स्कूलको विद्यार्थी जीवन बुबाको संस्थापक अध्यक्षतामा स्थापना भएको तत्कालीन शिशु प्राईमरी स्कूल वर्तमान ज्ञानभूमी मा. वि. नदिपुरबाट प्राथमिक शिक्षा हासिल, निमाविको शिक्षा संस्कृत प्रधान पाठशाला र मा.वि को शिक्षा राष्ट्रीय व्यवसायीक  मा.वि. टुंडिखेल बाट पुरा गर्नुभएको थियो।

जेठो बाठो छोरो घर ब्यवहारको कारण उच्च शिक्षा अगाडि बढउन नसकेता पनि कृषि तर्फ कुखुरा पालनको ब्यवसाय गर्नुको साथै तामा पित्तल भाँडा बनाउने उद्योग र पसल पनि चलाउदै आउनु भएको उहाँ  न्यू सिमेन्ट ब्लक ईण्डष्ट्रिजका पनि संस्थापक सफल प्रोपाईटर पनि हुनुहुन्थ्यो ।

राजनीतिमा पनि रूचि राख्ने हुनाले उहाँ नेपाली काँग्रेसमा आवद्ध भई क्रियाशील सदस्य लिएर राजनीति क्षेत्रमा समेत अतुलनीय योगदान पुऱ्याउनु भएको नेपाली कांग्रेस सम्बद्ध व्यक्तिहरू बताउनु हुन्छ। विभिन्न धार्मिक क्षेत्रमा पनि दान-दक्षिणा दिनुका साथै भौतिक निर्माण कार्यमा पनि उहाँको विशेष योगदान रहदै आएको र सुर्य विनायक सी गुठीको उपाध्यक्ष पदमा रही आधुनिक सुविधा सम्पन्न भवन बनाउन अतुलनीय योगदान पुऱ्याउनु भएको थियो ।

स्कूल जीवनमा राष्ट्रिय सेवा दल (NCCN) मा पनि उहाँको सक्रिय सहभागिता रहेको थियो । NCCN मा उहाँ बक्सिङ खेलदेखि अन्य साहसिक खेलमा पनि सक्रिय सहभागिता जनाउनु हुन्थ्यो । NCCN को समूहमा उहाँ अब्बल र अनुशासित प्रशिक्षर्थी हुनुहन्थ्यो ।

२०४२ साल पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय खेलकूदमा ऐथलेटिक्स तर्फ २० कि. मी.को हिंडाईमा गण्डकी अञ्चलको प्रतिनिधित्व गर्नु भएको थियो । पोखरा ब्यायामशालाको संस्थापक सदस्य भै सो समयमा  ब्यायामशाला सर्वसाधारण हरेक बर्गका ब्यक्तिहरूलाई ब्यायाम गर्न सहज होस भन्ने हेतुले केहि साथीहरू (अशोक, सुरेन्द्र, राजकुमार) मिलेर सानो २ कोठा भांडामा लिएर सुरू गर्नु भएको थियो ।

पोखरा जेसीजको कार्यक्रममा पहिलो पटक शारिरीक सुगठनको कला प्रस्तुत गर्नु भएको उहाँले  शारिरीक सुगठनको क्षेत्रमा पछि कहिले पनि फर्केर हेर्नु पर्ने अवस्था आएन । यसै खेलको दौरानमा ब्यवसायीक सुविधा सम्पन्न ब्यायामशाला खोल्नु भयो ।

ब्यायामशालाको नामाकरण गर्ने समयमा परिवारिक छलफल पछि पूर्खाको नाम सम्झना र अमरत्व गर्ने हेतुले हजुरबुबा खरदार स्व. रत्नमान उदासको नाममा रत्नश्री नामाकरणगरी रत्नश्री जीम स्थापना गर्नुभयो । शारिरीक सुगठन खेललाई जनमानसमा पुऱ्याउन उहाँको महत्वपूर्ण योगदान रहेको छ ।

पोखरामा भएका प्रायः ब्यायामशालाहरू उहाँबाट नै प्रशिक्षार्थी भै प्रेरणा पाएर खोलेका व्यामशालाहरू छन् । उहाँले स्थापना गरेको रत्नश्री जीमका प्रशिक्षार्थी खेलाडीहरूले राष्ट्रीय अन्तर्राष्ट्रीय क्षेत्रमा पनि पदक हासिल गरिसकेका छन् । उहाँको नेतृत्वमा गएका अन्तर्राष्ट्रीय खेलमा सधैं पदक जितेर मात्र फर्केको इतिहास  इतिहास सबैको सामु छर्लङ्ग देख्न सकिन्छ ।

उहाँले शारिरीक सुगठन खेलको क्षेत्रमा राष्ट्रिय देखि अन्तर्राष्ट्रिय निर्णायकको भूमिका पनि सफलता पूर्वक निभाउनु भएको थियो । उहाँको नेतृत्वमा अन्तर्राष्ट्रिय मुलुकहरूमा छिमेकि राष्ट्र भारत, चीनका साथै माल्दिभ्स, थाईलैण्ड, सिंगापुर, श्रीलंका, भेतनाम लगायतका देशहरूमा सहभागिता जनाएको थियो ।

समग्रमा भन्नुपर्दा उहाँ सामाजिक व्यक्तित्व सहयोगी व्यक्तित्व केही गर्नुपर्छ भन्ने व्यक्तित्व भएको हुनाले उहाँ  नेपाल शारिरीक सुगठन तथा फिट्नेस फेडेरेशन को -उपाध्यक्ष, गण्डकी प्रदेश शारिरीक सुगठन समितिको-अध्यक्ष, कास्की जिल्ला शारिरीक सुगठन तथा फिट्नेश संघको निवर्तमान -अध्यक्ष, पोखरा शारिरीक सुगठन संघका- संरक्षक तथा सल्लाहकार, विरेन्द्र स्मृति पार्क, नदिपुरको- उपाध्यक्ष र कास्की जिल्ला जिम व्यवसायी संघको संस्थापक- अध्यक्ष भएर काम गरिरहनुभएको थियो। ।

प्रतिक्रिया दिनुहोस्: