मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास
पौष १९, पोखरा
गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको भौतिक संरचना निर्माणको थालनी भएको छ ।
शुक्रबार गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित समारोहमा गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासमा गण्डकी प्रदेश सरकार र कोरिया इन्टरनेशनल को–अपरेसन एजेन्सी (कोइका) बीच सहयोग सम्झौता भयो ।
प्रतिष्ठानको पूर्वाधार निर्माण र विभिन्न विधामा शैक्षिक कार्यक्रमका लागि ९० लाख अमेरिका डलर अर्थात् १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी खर्च गर्नेगरी गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र कोइकाका नेपालस्थित कन्ट्री डाइरेक्टर मुहेन कङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । समारोहमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमेतको उपस्थिति थियो ।
शुक्रबार नै फेदीखोला गाउँपालिका वडा १, गुर्धुममा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवन शिलान्याससमेत भयो ।
सम्झौताबमोजिम कोरियाली सरकारमार्फत कोइकाले यो परियोजना सन् २०२५ बाट सुरु भई पाँच वर्षसम्म सञ्चालन हुने छ । यो परियोजना कोइका र जिटिइभिटीएले संयुक्त रूपमा कार्यान्वयन गर्नेछन् ।
मुख्यमन्त्री पाण्डेले फेदीखोला–१ मा निर्माण गरिने प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास गर्नुभएको थियो। कार्यक्रममा गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, गण्डकी प्रदेशसभाका सदस्य सुधीरकुमार पौडेल, पञ्चराम गुरुङ, सीताकुमारी सुन्दास, कोइकाका नेपालस्थित कन्ट्री डाइरेक्टर मुहेन कङ, फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारी लगायत व्यक्तित्वहरूको उपस्थिति उपस्थितिमा कार्यक्रम भएको थियो ।
प्रदेशका निम्ति आवश्यक आफ्नै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित शुक्रबार शिलान्यास भएको प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवन आगामी सन् २०२६ को अगस्तसम्म सम्पन्न हुने लक्ष्य छ । जसको लागत ३ करोड ५५ लाख १९ हजार १ सय ९१ रुपैयाँ (भ्याटसहित) छ । निर्माणको जिम्मा आरुषी कन्स्ट्रक्सन, पोखराले पाएको छ ।
यो परियोजनाको मुख्य उद्देश्य २१ औं शताब्दीको घरेलु तथा अन्तर्राष्ट्रिय आवश्यकतालाई पूरा गर्न सक्षम जनशक्ति उत्पादन गर्नु रहेको छ । परियोजनाले प्राविधिक र व्यावसायिक शिक्षा तथा तालिम नीति र १५औं राष्ट्रिय योजनासँग समन्वय गर्दै निर्माण क्षेत्रको आवश्यकता पूरा गर्न र रोजगारको अवसर बढाउन सहयोग पुर्याउने बताइएको छ ।
कोइकाले ४ हजार ५ सय ३० वर्गमिटरको प्राविधिक शिक्षालय भवन निर्माण गर्ने योजना बनाएको छ । जसमा कक्षाकोठा, कार्यशाला, छात्रावास (महिला छात्राका लागि) लगायतका आवश्यक उपकरण, फर्निचर, र शैक्षिक सामग्री हुनेछन् । साथै, कोइकाले प्राविधिक शिक्षालयको मास्टर प्लान, स्थानीय आवश्यकता अनुरूप छोटो समय तालिम, सञ्चालन योजना, करियर सेवा प्याकेज र उद्योगसँगको सहकार्य विकासका लागि प्राविधिक मार्गदर्शन र सहयोग प्रदान गर्नेछ ।
मुख्यमन्त्री पाण्डेले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सहकार्यको प्रशंसा गर्नुभयो । उहाले यो परियोजनाले नेपाललाई आर्थिक समृद्धि हासिल गर्न आवश्यक दक्ष र सक्षम जनशक्ति उत्पादन गर्नेमा विश्वास व्यक्त गर्नुभयो र परियोजनाको सफलताको कामना व्यक्त गर्नुभएको थियो।
कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर कङले उक्त परियोजना ले युवा, महिला र सिमान्तकृत व्यक्तिहरूलाई गुणस्तरीय प्राविधिक शिक्षा प्राप्त गर्न अवसर प्रदान गर्ने बताउनुभयो। उहाहरूलाई आजको बिस्व तीव्र रूपमा विकास भइरहेकोले रोजगारीको बजार अघि बढ्न आवश्यक सीपले सुसज्जित गर्नुपर्ने भएको उहाँको भनाइ थियो ।
सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले यो परियोजनाले देशभित्र दक्ष र सक्षम जनशक्ति उत्पादन गर्न सहयोग गर्ने बताउनुभयो । उहाले नेपाल सरकारलाई लगातार सहयोग गरेकोमा कोइकाप्रति धन्यवाद व्यक्त गर्नुभयो।
प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सोमनाथ सापकोटाले अटोमोबाइल, इलेक्ट्रिोनिक्स, टुरिजज्म एण्ड हस्पिटालिटी क्षेत्रमा अध्ययन अध्यापन हुने बताउनुभयो । त्यसका लागि पाठ्यक्रम निर्माण तयारी भइरहेको र यसबाट गण्डकी प्रदेशका लागि आवश्यक प्राविधिक दक्ष जनशक्ति यहीबाट उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो।
फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लामो समयको प्रतीक्षाको घडी समाप्त भएको बताउनुभयो । उहाले प्रतिष्ठान निर्माणसँगै गाउँमै प्राविधिक तथा व्यावसायिक शिक्षा उपलब्ध हुने भएपछि सिंगो गाउँपालिकामात्र प्रदेशभरलाई लाभ मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका लागि यहाँ कुल १ सय ६० रोपनी जग्गा प्रदेश सरकारको नाममा ल्याइएको छ। जग्गा उपलब्ध गराउन २२ रोपनीमा फैलिएको शिवालय आधारभूत विद्यालयलाई सर्केटारी सारिएको थियो । जग्गा दिएर सहयोग पुर्याएकोमा उक्त स्कुलको विकासका लागि सरकारले पहिलो प्राथमिकता दिने मुख्यमन्त्री पाण्डेले उद्घघोष गर्नुभयो ।
प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकमार थापाको अध्यक्षतामा भएको शिलान्यास समारोहमा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सोमनाथ सापकोटाले बोल्नुभएको थियो ।
कार्यक्रम संचालन प्रतिष्ठानका उपसचिव हरिबहादुर खपाङ्गी मगरले गर्नुभएको थियो भने गाउँमा प्रतिष्ठान निर्माण अघि बढेपछि खुसीयालीमा गाउँलेले अतिथिहरुलाई फूलमालाले स्वागत गर्नुभएको थियो।