आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि दुई दिने सचेतनामूलक कार्यक्रम सन्चालन
माघ ३ , पोखरा
सामाजिक विकास कार्यालय कास्कीको आयोजना, जिल्ला प्रहरी कार्यालय कास्की र बाल हितकारी परियोजना कास्कीको समन्वयमा दुई दिने आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि सचेतना मूलक कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रमको अध्यक्षता सामाजिक विकास कार्यालय, कास्कीका कार्यालय प्रमुख श्री राजेन्द्र प्रसाद पौडेलले गर्नुभएको सो कार्यक्रमको प्रमुख अतिथि सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव तोयनाथ लम्सालले आतिथ्यता ग्रहण गर्नुभएको थियो।
पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथिले झट्ट हेर्दा विषय सहज लागे पनि जटिल रूपमा झाङ्गिँदै गएको आत्महत्याले समाजमा नराम्रो छाप पारेर रहेको देखिएको बताउनुभयो। विशेषगरी आत्महत्या गर्नको लागि दुई तीन मिनेटमा गरिएको निर्णयले ठूलो घटना घट्ने भएको हुनाले यस किसिमको सोचाइ आइरहेको बेलामा कुनै पनि व्यक्ति भेट भएर उसको भावनालाई सम्मान गरी उसका कुरा सुनिदिने भएमा मात्र पनि बचाउन सक्ने परिवेश सिर्जना गर्न सक्ने बताउनुभयो।
विशेषगरी विद्यार्थीहरू परीक्षामा फेल हुनु, मानिसहरूलाई आफूले सोचेको कुरा नपुग्दा, कहिलेकाहीँ पारिवारिक कलह, पारिवारिक रूपमा कसैले भावना नबुझ्दा वितृष्णा पैदाभइ , व्यावहारिक मनमुटाव इत्यादि विषयहरुले व्यक्तिलाई आत्महत्या गर्न अगाडि बढाउँने अर्थात् प्रेरित गराउने भएको हुनाले बेलैमा यस्ता विषयहरूप्रति सचेत भई समाज परिवार एकआपसमा मिलेमा सबैको मानसम्मान अधिकार एउटै हो भन्ने विषय बुझेर एकआपसमा भावनाहरू मिलाएर दुःखको परिवेश आउन नदिनेको लागि विभिन्न किसिमका परामर्शहरूलिइ समाजमा घट्न सक्ने घटनाहरूलाई न्यूनीकरण गर्न सक्ने बताउनुभयो।
धन्यवाद सहित कार्यक्रमको अन्त गर्दै सामाजिक विकास कार्यालय कास्कीका प्रमुख राजेन्द्र प्रसाद पौडेलले अहिले नेपालमा पनि आत्महत्या गर्नेहरूको सङ्ख्या बढिरहेको हुनाले विशेषगरी विद्यालयका बालबालिका हरू यसको प्रत्यक्ष मारमा परेको हुनाले विद्यालयका शिक्षक शिक्षिका हरुलाई यस किसिमको तालिम दिँदा राम्रो सन्देश जाने र विद्यालयमा प्रत्यक्ष संलग्न भई बालबालिकाहरू अभिभावकहरु सबैलाई सचेत नागरिक बनाउन सक्ने शिक्षक भएको हुनाले यस किसिमको तालिमले महत्वपूर्ण कोशेढुङ्गाको रूपमा भूमिका खेल्ने विश्वास व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।
कम्प्यूटर अपरेटर, जंगबहादुर हमाल ठकुरीले सटिक स्वागत मन्तब्य राख्नुभएको सो कार्यक्रममा पश्चिमाचल क्षेत्रीय अस्पताल पोखराका बओसिएमसी कोअर्डिनेटर डा. शुशिला गुरुङ ,बाल हितकारी परियोजना, कास्की रियोजना सहजकर्ता, संगिता कोइराला र सुदिप धिमिरे आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रशिक्षण दिनुहुने कार्यक्रम सञ्चालक ज्ञानेश्वर सुवेदीले बताउनुभयो।
दुई दिनसम्म रहने सो सचेतनामूलक कार्यक्रम पोखरा महानगर पालिका भित्र रहेका करिब २५ वटा सामुदायिक विद्यालयका विशेषगरी सामाजिक र स्वास्थ्य तथा जनसङ्ख्या विषय शिक्षण गर्ने करिब ५० जना शिक्षकहरू उपस्थितिमा भएको सो कार्यक्रमलाइ भव्य र सभ्य रूपले ज्ञानेश्वर सुवेदीले सञ्चालन गर्नुभएको थियो।