पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न



माघ २६, पोखरा
पाठेघरको मुखको क्यान्सर पहिचान तथा रोकथामका लागि पोखरा महानगरपालिका वडा न. ५ को आयोजना तथा विभिन्न संघ संस्था को सहकार्यमा स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शहरी स्वास्थ्य केन्द्र पोखरा–५ मा आयोजित स्वास्थ्य शिविरमा महिलाहरूको VIA (Visual Inspection with Acetic Acid) परीक्षण गरिएको थियो। परीक्षणमार्फत पाठेघरको मुखको क्यान्सर हुनसक्ने जोखिम पहिचान गरी आवश्यक स्वास्थ्य परामर्श तथा उपचार सुझाव प्रदान गरिएको थियो।
शिविर पोखरा महानगरपालिका वडा न ५ मालेपाटनको आयोजना तथा प्रस्याङ रातमाटा महिला बचत समूहको सहआयोजनामा सम्पन्न भएको सो कार्यक्रम रोटरी क्लब अफ पोखरा न्युरोड, रोटरी क्लब अफ नक्साल शक्ति, रोटरी क्लब अफ पोखरा क्यापिटल को समन्वयमा उक्त कार्यक्रम गरिएको थियो।
कार्यक्रममा वडाध्यक्ष विष्णु बरालले स्वास्थ्य शिविरमा महिलाहरू को स्वास्थ्यप्रति गम्भीर भएर सरकारले विभिन्न अभियान सञ्चालन गरिरहेको बताउनुभयो । १० देखि १४ वर्षका किशोरीहरूलाई एचपीभी (HPV) खोप अभियान सञ्चालन भइरहेको जानकारी गराउँदै, महिलाहरूको स्वास्थ्य सुरक्षाका लागि यस्ता शिविरहरू आवश्यक रहेको बताउनुभएको थियो। साथै उहाँले वडा कार्यालयले वार्षिक कार्ययोजना अनुसार यस्ता कार्यक्रम गर्दै आएको र शिविर सफल बनाउन भूमिका खेल्ने क्लबहरू सबैलाइ धन्यवाद व्यक्त गर्नुभएको थियो।
स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै जनप्रतिनिधि हरिमाया विश्वकर्माले महिलाहरूको स्वास्थ्यप्रति सरकार तथा विभिन्न संघसंस्थाहरू गम्भीर रूपमा जिम्मेवारी बन्दै लागिपरेको बताउनुभयो। उहाले VIA परीक्षणको महत्त्वबारे जानकारी दिँदै “यस परीक्षणको मुख्य उद्देश्य महिलाहरूमा पाठेघरको मुखको क्यान्सर पहिचान गर्नु हो भन्नु भएको थियो यदि महिलाहरूमा कुनै समस्या देखिएमा उपचारका लागि लाज नमानिकन डाक्टरसँग सुझाव लिनु र दिनुपर्छ भन्नुभयो। सकेसम्म रोग लाग्नै नदिऔं, रोकथाम नै सबैभन्दा राम्रो उपाय हो” भन्दै महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति एकदमै सजग रहन अनुरोध गर्नुभएको थियो।
करिब १०७ जना महिलाले VIA TEST गरिएकोमा ४ जनामा पाठेघरको मुखको क्यान्सरको संकेत देखिएको र ५ जनामा आङ खस्ने समस्या देखिएको सिनियर अनमी अस्मिता अधिकारीले जानकारी दिनुभएको थियो। शंकास्पद देखिएका आमा दिदीबहिनी हरूलाई सामान्य परामर्श सहित पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा परीक्षणको लागि रिफर गरिएको पनि जानकारी दिनुभएको सो कार्यक्रम सहज सञ्चालन गर्नको लागि गण्डकी मेडिकल कलेज पोखराको प्राविधिकहरुको महत्त्वपूर्ण सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।


