पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा भाग लिन आएका पीस रन टोलीलाई अल्फामा भव्य स्वागत


फागुन २, पोखरा


पोखरा १६ लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पीस रन टोलीलाई शुक्रबार विशेष स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
पोखरामा शनिबार आयोजना हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागिता जनाउन पोखरा आइपुगेको पिस रन टोली शुक्रबार ११ बजे स्वागत तथा सम्मान कार्यक्रममा अल्फा बोर्डिङ स्कुल पुगेको थियो।
कार्यक्रममा अमेरिका, अष्ट्रेलिया, जापान, चीन, सिङ्गापुर ,लाटविया, जर्मनी लगायत १४ विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको विद्यालयका संस्थापक विजय अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा नव आदर्श सामुदायिक विकास संस्था का नवनिर्वाचित अध्यक्ष दिनेश भण्डारी, कोपिला आमा समूहका अध्यक्ष शान्ति अधिकारी, स्थानीय सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई आमन्त्रित गरिएको थियोे ।
करिब ११ बजे पिस र्याली सहित लामाचौर चोक हुँदै विद्यालय प्रवेश गरेको उक्त समूहले समाज तथा विद्यालयमा शान्ति फैलाउने उद्देश्यले विभिन्न सन्देशमूलक कार्यक्रम सहित करिब डेढ घण्टा बिताएको थियो। आगन्तुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पिसरन टिम लगायत उपस्थित सबैजनालाई स्वागत मन्तव्य राख्दै विद्यालयका प्राचार्य सुरेन्द्र मानसिंह भण्डारीले विद्यालयले यस्ता सामाजिक विषयवस्तु जोडिएका कार्यक्रम आगामी दिनहरुमा पनि आयोजना गर्दै जाने बताउनुभएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण लम्सालले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयको तर्फबाट स्वागत नृत्य तथा पीस रन टिमको तर्फबाट श्वेता प्रधानले कार्यक्रमको बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा विभिन्न खेल तथा सन्देशमूलक प्रस्तुति हरूका साथै विद्यालयलाई मायाको चिनो प्रदान गर्दै पिस रन टोलीले कार्यक्रमको समापन गरेको थियो।



