पृथ्वीनारायण क्याम्पसको जग्गा जोगाउन प्रजातान्त्रिक प्राध्यापक संघ र राष्ट्रिय प्राध्यापक संगठनको खबरदारी
असोज २ ,पोखरा
नेपालकै सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पस, पोखराले विगत ६५ वर्षदेखि भोगचलन गर्दै आएको जग्गा जोगाउन प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै खबरदारी गरेको छन् ।
विसं. २०३२ सालको नापीमा पृथ्वीनारायण क्याम्पसको दावी गरिएका कि.नं. ८३३ को २२२ रोपनी १२ आना २ पैसा १ दाम जग्गा समय–समयमा विभिन्न व्यक्ति/समूहले बारम्बार हडप्ने प्रयास गरिरहेकोले हाल क्याम्पस प्रशासनले क्याम्पसभित्रका सरोकारवाला पक्षहरूसँग आवश्यक छलफल तथा परामर्श नगरी हठात् सरकारी स्वामित्वमा सुम्पने कार्य गरेको आरोप लागेको छ ।
डा. देवीलाल शर्मा र विपीनबहादुर अधिकारीद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘क्याम्पस प्रशासन र वर्तमान क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले संघीय भूमिसुधारमन्त्री बलराम अधिकारीलाई बोलाइ हतार हतारमा क्याम्पसले भोगचलन गरिरहेको जग्गालाई विवाद टुङ्ग्याउने निहुँमा सरकारीकरण गर्न गरेको षडयन्त्रपूर्ण प्रपञ्चको हामी घोर भर्त्सना एवम् निन्दा गर्दछौं भनि प्रेस बिज्ञप्ति जारि गरेका छन् ।
जग्गाको स्वामित्व क्याम्पसको नाममा नआउन्जेल साबिक अवस्थामै जग्गा संरक्षण क्याम्पसले गरिरहनु पर्दछ । यदि उक्त जग्गा सरकारी स्वामित्वमा परिणत भएको हो भने उक्त जग्गा क्याम्पसको नाममा ल्याउन क्याम्पस प्रशासनबाटै तत्काल प्रयास सुरु गर्न आग्रह गरिएको छ । क्याम्पसले सो पहल नगरेमा क्याम्पस प्रशासनको खिलाफमा र सो जग्गा संरक्षणका लागि जस्तोसुकै कदम चाल्न बाध्य हुने जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, यो निर्णय बदर गरी पूर्ववत् अवस्थामा नल्याएमा कडा भन्दा कडा कदम चाल्ने तथा चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गर्नेछौ। साथै क्याम्पस प्रमुखको संलग्नतामा सम्बद्ध निकायहरूले गरेको यो गैर जिम्मेवारीपूर्ण निर्णय बदर गराउन सम्पूर्ण क्याम्पस परिवार नागरिक समाज, पत्रकार, बुद्धिजीवी, शिक्षाप्रेमी, विद्यार्थी लगायत सरोकारवाला सबैमा हार्दिक अपिल गर्दछौं ।