Worldlink Communications

विभिन्न पार्टीका चार सय युवा एमालेमा प्रवेश: युवालाई भड्काउने काम भइरहेको छ : मन्त्री गुरुङ

मंसिर १२ ,पोखरा

हिजो मङ्गलबार करिब चारसय युवा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपा परित्याग गरि नेकपा (एमाले) प्रवेश गर्नुभएको छ।

कास्कीको मादी ९ का युवा नेता कृष्ण थापाको नेतृत्वमा सचिन गुरुङ, राहुल कार्की, मनिष ठकुरी, सुजन गुरुङ, शंकर क्षत्री, श्याम थापा, सुजन राना, साजन गुरुङ, प्रविण अधिकारी लगायतका युवालाई पार्टीका उपमहासचिव तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेमा विधिवत रूपमा पार्टी पार्टी प्रवेश गराउनुभएको हो ।

पार्टी प्रवेश गराउँदै उपमहासचिव गुरुङले सरकारले सूचना र प्रविधि (आइटी)को विकासमार्फत ५ लाखलाई रोजगारी दिन सकिने कुरा बताउनुभएको छ  । उहाँले आइटीबाट आगामी २ देखि ३ वर्षमा ४ लाख देखि ५ लाखलाई रोजगारी दिने योजना नेकपा एमालेको सरकारसँग भएको बताउनुभयो ।आफू गण्डकी प्रदेशको मुख्यमन्त्री  हुँदा युवालाई केन्द्रीत गरेर फेदीखोलामा सीपमूलक तालिम केन्द्र खोल्ने र पोखरा १८ जामुनबोटमा सूचना प्रविधि पार्क स्थापना गर्ने योजना अगाडि सारेको जानकारी दिदै उनले प्रविधि क्षेत्रको विकास गरेर एउटै घरबाट २५ देखि ५० हजार युवालाई रोजगारी दिने परिकल्पना मन्त्रालयले गरेको उल्लेख गरेको बताउनुभयो।

सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना र प्रविधि क्षेत्रको विकास गरेर भारतको बैंगलोरमा एउटै घरबाट १ लाख ५० हजारलाई रोजगारी दिने गरेको स्मरण गर्नुभएको थियो। नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सरकारले विकास खर्च बढाएर रोजगारीको अवसर सिर्जना गर्न खोजेको बताउनुभयो । साढे १८ खर्बको बजेटमा अहिले ३ खर्ब विकास खर्च गर्न नसक्ने अवस्था रहेको उहाको भनाइ छ । गुरुङले सरकारले विकास खर्च बढाएर ९ खर्ब पुर्‍याउने ठोकुवा गर्नुभयो।

उहाले भौतिक पूर्वाधारको विकास तथा पुँजीगत खर्च गरेर रोजगारी बढाउन सकिने , उद्यमशीलता विकास तथा रोजगारीको सिर्जना गरी युवा देशमा बस्ने वातावरण बनाउन सरकारले ध्यान दिएको बताउनु भयो ।

मन्त्री गुरुङले विकास, निर्माणमा बाधक रहेका सार्वजनिक खरिद ऐन, वन ऐन, विद्युत ऐनलाई संशोधन गरी लगानीमैत्री वातावरण सिर्जना गरिने बताउनुभयो । उहाले आम युवाले सही शक्तिका रुपमा एमालेलाई रोज्ने गरेको बताउनुभयो ।युवालाई गलत दिशातर्फ धकेलेर भड्काउने काम भइरकेको आरोप लगाउँदै उनले एमाले कांग्रेस लगायतका मुल धारका राजनीतिक पार्टीले पञ्चायती व्यवस्था फाल्न गरेको संघर्षको कथा युवाले थाहा पाउनुपर्नेमा जोड दिनुभएको थियो।आम युवाको प्रवेशले एमाले बलियो भएको उल्लेख गर्दै मन्त्री गुरुङले बेरोजगारी, व्यवसायमा समस्या, प्रशासनिक, राजनीतिक र कानुनी झमेला परे एमालेलाई सम्झन सुझाव दिनुभयो ।

नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले पार्टीमा प्रवेश गर्ने सबैलाई उचित जिम्मेवारी दिइने बताउनुभयो। कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी उपसचिव दामबहादुर विक, कमिटीका सचिवालय सदस्य टीकाराम पंगेनी, मध्य नेपाल नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुदीप थापा, युवा नेता कृष्ण थापा लगायतले बोल्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: