नेपाल रेडक्रस सोसाइटी पोखरा -१६ को नवौ अधिबेशनबाट सर्वसम्मत सभापति दुर्गादत्त (दिपक) आचार्य निर्बाचित
मंसिर २९ , पोखरा
“मानवता लाइ जीवित राखौ”- मानवता, निस्पक्षता, तटस्थता , स्वाधीनता, स्वयंसेवा ,एकता र विश्वब्यापकता भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी पोखरा -१६ को ३१औ बार्षिक साधारण सभा तथा नवौ अधिबेशनले सभापति दुर्गादत्त (दिपक) आचार्य को नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको छ।
सभापति-दुर्गादत्त आचार्य ,उपसभापति- तारा भट्टराई, सचिव- सूर्यमोहन आचार्य, कोषाध्यक्ष- विकास आचार्य ,उपसचिव- डिल्लीराम आचार्य, उपकोषाध्यक्ष- माधव शर्मा र सदस्यहरुमा क्रमश सुमित्रा आचार्य, गोमा आचार्य, ज्ञानबहादुर कार्की, शोभा आचार्य र निर्मल भट्टराई चयन हुनुभएको छ।
कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वार्ड नं १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र कार्यक्रमको अध्यक्षता गरिरहनु भएका अध्यक्ष तारा अधिकारीले संस्थाको ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको उद्घघाटन गर्नुभएको थियो।
कार्यक्रमको उद्घघाटन गर्दै प्रमुख अतिथि अमृत शर्मा तिमिल्सिनाले रेडक्रस भनेको मानव सेवा हो समाजसेवा हो र अप्ठ्यारोमा परेका सम्पूर्ण व्यक्ति परिवार र समूहलाई सहयोग गर्नको लागि बनेको संस्था भएकोले आपतविपतमा परेकाहरुलाई सहयोग गर्न सक्ने समय भएका र काम पनि गर्न सक्ने व्यक्तिहरुले संस्थालाई एक कदम अगाडि बढाउन सक्ने सामर्थ्यवान नेतृत्व चयन गर्नुहुनेछ भन्दै आफूले वडाबाट विगतमा पनि सहयोग गरेको र अहिले पनि संस्थालाई सहयोग गर्न कुनै पनि कसर बाँकी नराख्ने बताउनु भएको थियो।
बिशिष्ट अतिथि एबम मतदान अधिकृत पार्वती कार्की, पुर्व सभापति हरुको तर्फबाट शुवास अधिकारी लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुहुँदै रेडक्रस मानव जातिको हितको निम्ति अप्ठ्यारो मा परेका व्यक्तिहरूलाई , समूहहरूलाई सहयोग गर्न को लागि स्थापना भएका संस्थाहरूमा लाग्नको समाजसेवी मन र धेरै समय चाहिने भएको व्यक्ति र केही गरौँ भन्ने भावना भएका व्यक्तित्व हरूले रेडक्रसको नयाँ बन्ने बसेर समितिको उचाइलाई अझै बढाउनु हुनेछ भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।
सस्थाका उपाध्यक्ष तारा भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थाका सदस्य डिल्लीराम आचार्यले रेडक्रसका सात सिद्धान्त वाचन गरेर सुनाउनुभएको थियो।
कार्यक्रममा बिन्ध्यबासिनी माध्यमिक विद्यालय रेडक्रसमा आबद्ध ससानो बैनिहरु एन्जिला एन्जिला भट्टराईले स्वागत नृत्य प्रदर्शन गर्नुभएको थियो भने बैनि नितिसा भट्टराईले रेडक्रस सोसाइटी प्रति सर्मपित स्वागत कविता वाचन गर्नुभएको थियो।
कोषाध्यक्ष विकास आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।३१औ बार्षिक साधारणसभा तथा नवौ अधिवेशनको प्रतिवेदन सस्थाका सचिव दिपक आचार्य ले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तारा अधिकारीले आफ्नो तर्फबाट आफूसँग कार्यरत सम्पूर्ण सदस्य टिमलाई फोटोसहितको मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रमको पहिलो सेसनलाई अन्त गर्दै तारा अधिकारीले भावुक हुँदै आफू आजसम्म धेरै संस्थामा बसेर काम गरेको तर सबैभन्दा सन्तुष्ट भएको संस्था नेपाल सोसाइटी भएको बताउनुभएको थियो।