पाँचौं टाइगर कप भलिबलका लागि गण्डकी प्रदेशले भित्रायो ३ विदेशी खेलाडी
माघ ७, पोखरा
माघको दोस्रो सातादेखि हुने पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि गण्डकी प्रदेशले ३ विदेशी खेलाडी अनुबन्ध गरेको छ ।
गण्डकीले टाइगर कपका लागि पुरुषतर्फ ट्युनिसियाका फाहिम मिलाडी सहित ३ खेलाडीलाई टिममा अनुबन्ध गरेको प्रदेश भलिबल
संघका अध्यक्ष नविन गुरुबले जानकारी दिनुभयो । फाहिम सहित केन्याका निकोशल मातुयी र कंगोका यानिक सेशालाई गण्डकीले टोलीमा अनुबन्ध गरेको हो ।अन्य खेलाडीको हकमा भने छलफल गरेर घोषणा गर्ने अध्यक्ष गुरुबले बताए ।
गण्डकी अघिल्लो संस्करणको उपविजेता टोली पनि हो । यसपटक भने गण्डकीले महिला टोलीलाई सहभागी बनाएको छैन । पाँचौं टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा ६–६ टोलीले सहभागिता जनाएका छन् । माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगिताको विजेताले ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालका आयोजनामा हुन लागेको प्रतियोगिताको उपविजेताले २ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने छ भने तेस्रो हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।