मातृशिशु अस्पतालमा नयाँ व्यवस्थापन समितिको पदस्थापन


फागुन २६ पोखरा


गण्डकी प्रदेश सरकार अन्तर्गत पोखरा महानगरपालिका वडा १६ मा संचालित मातृशिशु मितेरी प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पदस्थापन भएको छ ।
प्रदेश सरकारको नयाँ समिति गठन प्रक्रिया अनुसार अनुसार जिल्ला समन्वय समिति कास्कीका प्रमुख अध्यक्ष रहने व्यवस्था गरिएकाले अध्यक्ष लिलाधर पौडेल लगाएत समितिका सदस्यको पदस्थापन भएको हो ।
प्रदेश सरकारको नियमअनुसार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी वा प्रतिनिधि, सदस्य र अस्पतालका व्यवस्थापन समितिका सचिव मेडिकल सुपरिटेन्डेन्ट रहने व्यवस्था भए अनुसार सबैको पदस्थापना गरिएको थियो।
गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले पदस्थापन गर्दै राजनीति भन्दा माथि उठेर जनताको पक्षमा काम गर्न सबैलाइ अनुरोध गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन गण्डकी प्रदेश सरकार संचालित अस्पतालहरूको स्तरोन्नति गर्नका लागि नीति र कार्यक्रम निर्माणमा सरकार लागिरहेको बताउनुभयो ।
प्रदेशमा विशिष्ट सेवासहितका अस्पतालहरूको निर्माणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वास्थ्य सेवाहरूलाई सहज र सरल बनाउँदै आम जनताको पहुँचमा पुर्याउने कार्यमा सबैले ध्यान पुर्याउनु पर्छ भन्नुभयो।
नवनियुक्त अध्यक्ष लिलाधर पौडेलले गण्डकी प्रदेश सरकारले परिकल्पना गरेको ‘स्वस्थ गण्डकी, समृद्ध गण्डकी’ निर्माणको अभियानलाई सार्थक बनाउन सबै क्षेत्र र समुदायलाई सहयोग गर्न अनुरोध गर्नुभयो।अस्पताललाई समृद्ध बनाउन ,सेवामुखी र जनमुखी बनाउँदै अस्पतालको सुदृढीकरणमा सबै निकायहरूको सहयोग र समन्वयमा आफ्नो समिति दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पोखरा महानगर प्रमुख धनराज आचार्यले जनशक्ति, भौतिक र प्राविधिक विकासमा महानगर कटिबद्ध भएर लाग्ने बताउनुभएको थियो ।कार्यक्रममा अस्पतालका पूर्व अध्यक्ष तथा पोखरा महानगरका पूर्व मेयर कृष्ण थापा, गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. विश्वबन्धु बगाले, अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष उषा बरूवाल, अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव डा. धर्मदेव ढकाल लगायतले मन्तव्य राख्नुभएको थियो।
अस्पताल व्यवस्थापन समितिका निवर्तमान पदाधिकारीहरूको बिदाइ र नवनिर्वाचित समितिको पदस्थापना गरिएको सो कार्यक्रमलाइ अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष धर्मराज थापाको अध्यक्षतामा भएको कार्यक्रमलाई अस्पतालका कर्मचारी ओम बहादुर थापाले भव्य र सभ्य रुपले सञ्चालन गर्नुभएको थियो।




