पोखरा चाइल्ड स्टार सिजन ४ को उपाधि पोखरा पब्लिकका प्रवीन र सेन्ट म्यारीकी आइराले जिते



पोखरा, ७ वैशाख
बाल प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नन्द इन्टरटेन्मेन्ट हाउसले आयोजना गरेको पोखरा चाइल्ड स्टार सिजन ४ को उपाधि पोखरा पब्लिक स्कूलका प्रवीन श्रेष्ठ र सेन्ट म्यारी स्कूलकी आइरा गुरुङले जितेका छन्।
शनिबार पोखरामा सम्पन्न ग्रान्ड फिनालेमा उनीहरुले उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः बालक र बालिका तर्फको शीर्ष स्थान हासिल गरे।
पुरुष तर्फ प्रथम रनरअपको उपाधि जिवेश थापाले प्राप्त गरे भने दोस्रो रनरअप अस्मिन भुजेल बने। मोस्ट ट्यालेन्टेड अवार्ड प्रतीक श्रेष्ठले जिते।
बालिका तर्फ फस्ट रनरअप ग्रीष्मा गौतम, सेकेन्ड रनरअप पुनम सेन ठकुरी घोषित भइन्। बेस्ट क्याटवाक अवार्ड रिहाना बास्तोलाले प्राप्त गर्दा बेस्ट पोज अवार्ड भने गरिमा सिंहले हात पार्न सफल भइन् ।
कार्यक्रमको अध्यक्षता आइक्यासका प्रबन्ध निर्देशक समिर थापाले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रुपमा गण्डकी प्रदेशसभा सदस्य गोविन्द नेपाली तथा विशेष अतिथिका रुपमा लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली अधिकारीको उपस्थिति थियो।
फिनालेमा निर्णायकको भूमिकामा सङ्गीतकार रमेश श्रेष्ठ, पत्रकार, गीतकार तथा सङ्गीतकार आरजू बिष्ट ‘सल्यानी’, फेसन मोडल माया गुरुङ, ईञ्जिनियर अनिल ढुङ्गाना तथा प्रमुख निर्णायकको रुपमा प्रो. डा. दिपमाला श्रेष्ठ गुरुङ रहेकी थिइन् ।कार्यक्रमका अतिथि तथा निर्णायकहरुले यस्ता प्रतिस्पर्धाले बालबालिकाको प्रतिभा अभिवृद्धिमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे। उनीहरुले भने, “बालबालिकाले भविष्यमा सफलता हासिल गर्न अभिभावकको निरन्तर साथ र सहयोग अत्यावश्यक हुन्छ।”
इन्टरनेशनल कलेज अफ एप्लाइड साइन्सको स्पोन्सर रहेको भव्य कार्यक्रमको संचालन चर्चित संचारकर्मि, कुशल सञ्चालक दीपेन्द्र सेन शाहीले गरेका थिए । नन्द इन्टरटेनेमन्टले प्रतिभा प्रस्फुटन एवं क्षमता अभिवृद्धिका लागि बेलाबेलामा विविध कार्यक्रम गर्दै आएको छ ।


